क.
यमुनाजलमा बज्दछ मुरली !
जलमा बुलबुल रुन्छन् पिलपिल !
रुन्छन् कलकल !
यो तटको, वन छायाछवियुक्त
यौवन, यौवन !
दिवानिशाको छाया अङ्कित,
वियोगमिलनको क्रीडाभूमि,
वृन्दावन !
यो मिलनको रोइरहेको इतिहास !
याद रुँदाको बास !
पिरली चल्दछ एक अगोचर मुरलीमा
यस स्थलमा रे
प्रेमी प्राणहरूको बतास !
ख.
सरिताको छ सागररोदन !
एक सुनौली सन्ध्यापछाडि,
खोजी, खोजी,
पौडिरहेछन् जलमा क्रन्दन,
जलमा क्रन्दन
अबोला निशा छ चिहानसरी यो;
कब्र उपरका क्रन्दनसरि,
आँसु बिन्दिए स्वर्गभरी रे,
स्वर्गभरी !
ग.
विश्वको अघिपति रुन्छ यहाँ,
आफ्ना फूलहरूमा !
आफ्ना मृत्यु र परिवर्तनका
आदिम, स्वनिर्मित नियमरूपका
भूलहरूमा ! भूलहरूमा !
आफैं घोची आफ्नो छाती
शूलहरूमा ! शूलहरूमा !
घ.
तिनी सुतिन् यो लहरीमाथि,
सुन्दरता !
जागृति–शिथिला कोमलता !
बोल्थे मुगाहरू, बोल्नै छोडे !
मोती गुड्दथे, वर्षन छोडे !
जलभर दृग छु, जागा राती !
मस्त निदाइन् नित ती साथी !
ओह ! अकेलापन क्या रुन्छ
आकाशभरी !
चकमन्न पारी !
ओड्छिन् कफन जब भू बिचरी !
ङ.
पुरुषको अतिपरुष छ माग के
अति कोमलमा जग–वनका ?
थकित भए जो शान्ति लिनाकन
पार जगतका वनक ?
लाग्यो थकाइ, तिनी निदाइन्।
दोष के तिनको ?
“फर्क” भनीकन रुन्छ सदा मन,
तर हा ! वियोगी जनको !
क्रूर माग हो ! कसरी आऊन्!
नगलोस् पाउ सुमनको ?
अनन्त शान्ति हो जाती !
दुःख दिंदो छु तर म पुकारी !
रातजस्तो दिनको पनि अझ
आज छ मेरो राति !
च.
सुकुमारीको कुन चिर जीवन ?
उपवनमा वा जनगणमा ?
शिखरज्योति झैं सुनधूलीमा चढिरहेकी
झप्प निभिन् ती, क्षणमा !
एक चखेवा रुन्छ असङ्ख्य
ताराहरूको वर्षणमा !
आँखाजस्तो नीलो गगनमा,
गरेर क्षण, क्षण, कणकणमा !
छ.
हात उठाई फैलाईकन, रोई, रूहले
सोध्दछ कोही
“ए सन्नाटाको घोर महावन !
ती लुकेकी खोइ ?”
ज.
अनन्तताको सघन महावन
प्यास चहार्दछ खोजी।
जीवनज्योतिको ज्वाला कहाँ गो ?
अपनाएथेँ जो रोजी ?
अन्धो आँखाको यो तिर्खा
गर्छ मशीहासाथ सवालः
“अमिट खोजले सारा ढोका
खोली हेर्दा, मिल्दछ काहीँ,
दिव्य गुमेको माल ?”
झ.
थिइन् दया ती ! निष्ठुरता म !
आफ्नी ढुकुटी भन्ठानेँ !
मसिना, खस्रा, सारा इच्छा
थन्काएथेँ- अब जानेँ !
ज्योतिभन्दा मसिनी थिइन् ती
माटोभन्दा खस्रो म !
अन्दाज सच्चा गर्न सकिनँ !
प्यारको सेवा हाय ! पुगेन !
लायककदर रहिनँ !
ञ.
यस तटमा छु सागरको म
उस तटमा छौ ए मुमताज !
शाहजहाँ यो छटपट गर्दछ,
पदधूलीमा फ्याँकी ताज !
असीम अकेलापन अब रुन्छे,
ती सब दाना, ती सब दाना
जसले बन्यो यो संसार!
आधा जीवन शून्य विलीन छ,
आधा बग्दछ स्मृतिको धार !
ट.
अनन्त भाग्यको अनन्त अभागी
गरीब शाहको ए दिलताज !
याद धनी छन् रुँदा, सडकमा;
अपूर्व सपना मागी आज ।
रङ्कपनामा सचेत बनेको
मेरो, अमरमा के उपहार ?
संसार चढाऊँ ! जीवन चढाऊँ ?
तुच्छ छ त्यो पनि ए सुकुमार !
ठ.
हाम्रा धन सब माटो धुलिन्छन्!
भावपुतली उड्छन्, भुलिन्छन्!
अमर तिमीमा के उपहार ?
नीरवताले छुन्छे हाम्रो
स्पन्दित दिलको चिर गुँजार !
क्रन्दन, पुकार !
छायाचित्र यो संसार !
ड.
लाचारीका झोँक्का पलकमा जल गुड्दछन्!
इच्छा रङ्गिन्छन्, उड्छन्!
केवल अमर कलाको इङ्गित
नाघ्दछ देश र काल अपार !
मिली सुत्यौँ यस जगतिर भन्ने,
मिली उठ्यौं उस जगतिर भन्ने
भस्म-मस्मको विवाह जनाउन,
मूक हृदयको गुञ्जार सुनाउन,
शिल्पन लाउँछु एक अद्भुतको,
साजा एउटा शयनागार ।
यस जमुनाको क्रन्दन–किनार !
ढ.
कालले कहिल्यै यस्तो मीठो
फूल टिपेन !
टिपिएपछि पनि जसको सुगन्ध,
भूमण्डलको स्मृतिमा गुँज्दछ,
गुँञ्जिरहला,
सक्झनुलाई धनी बनाई ।
भविष्यले तर सोध्ला निरन्तर,
मेरो आत्मासँगमा निशिभर,
“के चढाइस् आँसुसँगमा
तिनलाई ?”
ण
धनी खरानीउपर शिल्पको
रानी झुकून् रोई ।
त्यो माटोमा अमरलताका
जराहरूको ज्यान फिजाउँछु ।
प्यारका जलकण तिनका बीउ
आद्र दृगले बोई, बोई !
काल विजेता ताजा मरमर
प्रेमले मन्त्रोस्, अपूर्व छिनाहरू
जलले धोई ।
अपूर्व स्मारक कलिलो उठाउँछु,
साथ सुतौंला अनि दोई !
त.
तरलताले छाओस् मरमर,
स्नायुसजीव र कोमल, सुन्दर !
एक लयका सुरका चोट
सचेत छिनाले काटून् तिनभर-
मोती झुल्ने लतिका फुल्दा,
रोदन दिलभर !
विहाग रागको आत्मा साकार,
चिर गुञ्जनले रचियोस् आगार,
रोदनको झैं घर !
रुदित बनोटको स्वपना उज्यालो
मरमरमा !
शाश्वत स्मारक वियोग–व्यथाको,
सुन्दरतामा !
युगयुग प्यारका हृदयहरूले
पाऊन् स्पन्दन, प्रेरणा, गुञ्जार !
प्यारको स्वपना, प्यारको भेटी,
मरमर आत्मा मृदुल चढीकन
पघलोस्, विलपी
जमुना-किनार !
थ.
कला अगाडि सम्राट्को होस्
ताज रे झिलझिल उपहास !
मटीहरूमा शिल्पित मन्दिर
टिक्दछ भन्दछ इतिहास !
उपलाङ्कित एक दिव्य काव्य होस्!
अमिधा ताज !
जिन्दगी औ मृत्यु जसका
जिल्द हुनेछन् खास ।
द.
रूपद्वारा सङ्गीत रुलाऊँ !
साकार विलौना हत दिलको !
मसृण छिनाले मीँड बजाऊँ
रुदित भावको दिलको !
पाषाण बनोस् एक स्वरलहरीझैं
एक वियोगी बुलबुलको !
याद दिने होस् निर्माण पुनीत !
जमुना बन्लिन् मेरो गीत !
ध.
शिल्पित उपलको बेलीवनमा,
यो रुह बुलबुल,
घनले निलेकी शशीकन सम्झी,
बोलिरहला युगका यात्री-
सामु, दिलको पीडा, खलबल !
न.
मेरा दृगका मोती सीमित !
सारा नजरका मोती मागूँ !
मोती भिखारी भई यस तटमा,
जुगजुगका सब प्यारहरूका
गहिराइका दाना, दाना,
बटुलूँ, राखूँ !
दुनियाँ डाकूँ !
भविष्य ! तेरो उपहार निरन्तर
रोई, मागूँ !
प.
व्योमको गुम्मज प्यारको गुम्मज !
यी पृथिवी हुन् अविरल जलकी
शिल्पकला !
यी लहरा हुन् प्यारका तृष्णा,
सरिताका यी सुन्दर चेली,
बेली, कलिला !
यी कुसुम हुन् विश्वशिल्पी प्राणपवनले
कुँदिई बनेका चट्टान, शिला !
निशदिन बत्ती सामु भला !
सृष्टि हो यो परमेश्वरको
स्थायी स्मारक कोही निम्ति !
असीम ! अगम !
के रुँदैनौ तिमी पनि एकला
निशिमा भन रे ?
शवनम ? शवनम ?
फ.
निद्रित बुलबुल त्यही अघि बोलून्,
मानव दिलका !
स्थान, कालका सीमा नाघून् पङ्खहरूले पलका !
मेरो होइन, प्यारकै होस् यो शयनागार !
मुमताज, होइन, सौन्दर्य
सुतेर सपनून् जमुना-किनार ।
सागरतृष्णा बोलिरहोस्,
रोई दुगुर्दी जलधार ।
ब.
प्यार नै हो धम्म(र्म) महान् !
सुन्दरतम !
सुन्दरतम हो ताज रे ईश्वर !
मार्ग भक्ति हो !
भेटी शवनम !
सुन्दरको नै, आत्मा सुन्दछ,
मसिनो आहट !
शेष सृष्टिबाट छ त्यसको
दिलमा अनौठा बोलावट !
तृष्णा गति हो !
आशा इशारा !
आत्मा आत्मालाई चिनाउँछ
सलिल किनारा, सलिल किनारा !
म उक्लन्छु, ती ओर्लन्छिन्!
इश्ल मिलन हो ! इश्ल मिलन !
याद भजन !
स्मारक, पूजन !
बिन्दु, बिन्दुका माला !
हावभाव हुन् हाम्रा नट !
सब धम्म(र्म)को हो आत्मा प्यार !
वेद, कुरान हो
जलको घट !
भ.
पुतलीको यो बत्ती पछिको
छटपटलाई स्मारक होस्!
जमुनाजल यो सागरसम्मन्
प्रेमकथाको प्रचारक! होस्
चाँदनीको स्वर्ग मोहनी
पत्थर उरको दारक होस्।
अछूत उँचाइमा अवलम्बित श्री
यसको भावविचारक होस्!
संसारको यो पत्थरमाथि
एक शाहको जलको अङ्क !
ताजमहल होस्! जगभर जाती !
आदर्श, बिना एक सानु कलङ्क !
सुषमाप्रति यो चिर वन्दन !
साथ सुतौँला युगयुग साथी !
मानव दिलमा विश्वधम्म(र्म)को
दिई निरन्तर स्पन्दन !
पाषाणहरूमा भाषा भरुँला,
चूप सुती निशिदिन !
स्रोत-इन्द्रेणी(१:६),२०१३
No comments:
Post a Comment