सर्ग:- प्रथम
महाकाव्य:- शाकुन्तल
महाकवि:- लक्ष्मीप्रसाद देवकोटा
चिम्ली लोचन दीर्घकाल तपमा खोलेर वासन्तिका ।
नाच्दी सुन्दर तालले पवनमा देखी फुलेकी लता ॥
बिर्सेझैँ ‘भन को तिमी’ यति भनी गौरी रुलाइकन ।
मुस्काएर फुल्याउँदा शिव दिऊन् कल्याणको चुम्बन ॥
चम्किन्थे अघि स्वर्णकालमहिमा पूर्वीय आकाशमा ।
गम्किन्थे सपनासमान घनमा बुट्टाहरू बान्किला ॥
आँखामा खगको परीकन तिनै गाना बनी गुँज्दथे ।
त्यो आभा भर भारती भरतको यो भारताकाशमा ॥
मीठो लाग्छ मलाई ता प्रियकथा प्राचीन संसारको ।
हाम्रो भारतवर्षको उदयको हैमप्रभा सारको ॥
जाडोमा पनि कोइली कुसुमका वास्नाहरू सम्झिँदै ।
फर्केलान् दिन फेरि उत्तर भनी बस्छे अकेली रुँदै ॥
बिर्सेका पुरुखा रुखा हृदयका सुख्खा झिना सन्तति ।
हामी दुर्बल रुग्ण खाडल खनी हाल्दा सबै सम्पति ॥
फालेका कलिकालकल्मष बली गर्दा सधैँ खल्बली ।
श्रद्धाभक्तिविहीन भै मुटु जली लाग्यौँ नि जानै ढली ॥
आफैँलाई चिनाउने रस दिने प्राचीन सम्झाउने ।
मीठा व्यञ्जन ल्याउने धन हुने संसार ब्यूँझाउने ॥
चिन्ता दूर भगाउने समय नै स्वर्णाभ फर्काउने ।
ज्ञानीले पनि गाउने प्रियकथा आनन्द वर्षाउने ॥
गाऊँ आज भनी लिएँ कलमको वीणा यसो हातमा ।
चल्थ्यो हात कहाँ कठ्याङ्ग्रिन गयो अज्ञानका रातमा ॥
काँप्यो थुर्थुर चाल बिग्रिन गयो बिग्रेर झङ्कार यो ।
हुङ्कारेर अहम् महाशठमनाको मूर्ख टङ्कार भो ॥
माटो हो हुन ता तथापि गहिरा आँखा हुने सज्जन ।
दाना सुन्दर स्वर्णका झलझली देख्लान् गुडेका कण ॥
जो आयो तर वर्षिई घनघटा कालो निलोबाट यो ।
जो जो ल्याउँछ सो बिनी बिनिलिने सौजन्यको सौख हो ॥
आँखालाई न भोज यो झिलिमिली मीठो न यो कानमा ।
गाना षट्पदको छ श्रेष्ठ कविको यो कल्पनोद्यानमा ॥
नामै मात्र पवित्र मित्र यसको के भित्र होला तर ?
यस्ता क्षुद्र दरिद्रका हृदयमा दारिद्र्यका चित्र छन् ॥
यात्री आज बनूँ अतीत युगका सम्झूँ म त्यो भारत ।
ब्यूँझाऊँ त सुषुप्तभाव अघिका पर्दा लगाऊँ यता ॥
यो कोलाहल बिर्सिऊँ मृतकको यो नामको जीवन ।
पाल्नोस् सज्जनवृन्द यो रसिकको मीठो छ वृन्दावन ॥
छोटो दैनिक जिन्दगी न घटना झन् धूलिले धूसर ।
सस्ता ताक नफा लिएर छ सदा अन्धो नभै सुन्दर ॥
सासै फेर्नुछ वर्तमान नमिले यो भूतको आढ्यता ।
हामी दीन र हीन बन्नुछ भनी लेखेँ पुरानो कथा ॥
लाएकी वनपुष्पहार हरियो सारी सिँगारीकन ।
बच्चा ली मृगको घुमेर वनमा सङ्गीतमा दी मन ॥
छायाले छविले बनी छिरिबिरी ठण्डा छहारीतिर ।
लाग्दी कोमल कल्पना छ कविकी कूँज्दी कथा-कोकिला ॥
नेपाली घरमा बनाउँछु भनी प्राचीनको यो वन ।
रोपेँ बीज विचारका कलमका बुट्टा बनून् बल्लरी ॥
मालादार गला बनून् रसिकका पङ्खा नचाऊन् परी ।
सानो कुड्मल उक्सिँदै हृदयको वास्ना बनोस् वायुमा ॥
बिर्सेका तकिया बनूनन् रसिकका शैलादिझैँ शीतल ।
तन्ना हुन् हरिया बनून् कुसुमका बुट्टा त्यहाँ मञ्जुल ॥
जागून् चित्र विचित्रतासँग उठोस् मुन्द्रा घुमी धूपको ।
कोठैभित्र कुटी बनून् ध्वनि बनून् मीठा चरा कानमा ॥
पढ्दै मञ्जुल लाल-छाल ललिता ती मालिनीका चलून् ।
भित्ताका तरुचित्रमा कुसुमका बुट्टा अनौठा फुलून् ॥
पृथ्वी हुन् तरुनी फरक्क समयै फर्कोस् सुनौला बनी ।
ओर्लून् देवपरी विमान मनका घुम्दै उडून् स्वर्गमा ॥
बस्ती दिव्य बसाउने गगनमा राम्रा कलाले भरी ।
सीमालाई स्वदेशको विजयले सानन्द चौडा गरी ॥
यो सौन्दर्य फलाइने हृदयका आकाशका खेतमा ।
जो साहित्यकलाकुबेर कविको सो सौख्य मेरो भयो ॥
उद्योगैतक गर्छु आज म सखे! बन्ला नबन्ला कसो ?
जादूबाट जगत् बनाउनु उसै होला सजीलो कहाँ ?
मेरी शैशव-कल्पना छुकछुके के के गरी गुन्गुन ।
हात्तीमाथि चढेर बादलविषे बोल्छे सुरेन्दैसँग ॥
भाषा भासिन जान्छ भासहरूमा दौडेर चाँडो अलि ।
अड्दै टिप्न सिपालु छैन रसिला बास्ना भएका कलि ॥
बत्ती फूलसमान शब्दहरूका जान्नन् धपक्कै बली ।
होली कान्तकला कपोल-कललिला लज्जावती लालिमा ॥
भाषा सागररत्न हो झिलिमिली छाती छचल्काउँदै ।
स्वर्गैलाई समाउने सुनहला सौन्दर्यका छालमा ॥
यो ढुङ्गेतटमा सिपी सजल नै फ्याँक्दो छ रित्ता सब ।
पारावारध्वनि प्रगूढ यसमा गूँज्छन् भने तुष्ट छु ॥
दाढीबाट सफेद व्यास ऋषिको गङ्गा बनेकी कथा ।
ओर्ली सल्बल कल्बलाउन चली पूर्वीय मैदानमा ॥
कालीदासकला बनेर रसिली कल्लोलकौतूहला ।
‘पुग्छिन् सागर’ भन्नु सत्य छ भने नाघ्लिन् बलौटो यही ॥
के शृङ्गार गुलाबलाई कमलैलाई म धोऊँ किन ?
नीलो रङ्ग थपी सफा गगनमा मूर्खै बनूँ के भन ?
ठोसी यो नखरे ठुटे कलमको टुप्पो झिनो चक्चके ।
‘सक्तैनस्’ यतिमात्र लेखिन गए सन्तुष्ट हुन्थे जन ॥
कालीदास भनेर कोकिल अरू काला भए तापनि ।
कूँज्दैछन् वनमा न अड्छ तिनको आफ्नै वसन्ती ध्वनि ॥
के मण्डूक कराउनू प्रकृतिले पापीपना हुन्छ र ?
गौरीशङ्करको नजीक चुचुरा उठ्छन् अरू वामन ॥
गाए तुम्बुरुले सुनेर सुरले ताली दिए गड्गडी ।
नाचीथी बिजुली जुहारहरुका झल्झल् लडेथे लडी ॥
उर्लेको खहरे तिनै सुर लिई हाम्फाल्नको हड्बडी ।
गर्दै पर्वत नै कपाउँछ सदा बाढी धमीलो बढी ॥
‘मालाले कवि! भारतीपद भजी चोला सुनौला लिनू ।
बग्दैनन् स्तन ती त्यसै किन लिइस् बेकारको यो छिनु ॥’
भन्ने बुद्धि कुबुद्धि भो कवि बढ्यो मीठो अहङ्कारले ।
‘आँसू होस् सब दोष होश पर होस् पूजा यही’ भन्दछ ॥
मेरो हंस चढी सफा स्फटिकको माला धरी आँसुका ।
वीणा ली करमा नशा झुनुनुनू झङ्कार्दछिन् जो सदा ॥
ती माला स्तनको सुधा हृदयमा बस्छिन् बहाईकन ।
बुट्टा काट्छु छिना लिई नजर हुन् बत्ती उज्यालो दिन ॥
‘बुट्टा हेरन पिच्छमा झिलिमिली’ भन्दै त्यसै ढल्किँदो ।
हुन् आरूढ नहुन् कि शुक्लवसना इन्द्रेषुझैँ झल्किँदो ॥
भैगो मत्तमयूर नाच्दछ भने नाचोस् फुलेका - ‘मन’ ।
लागून् बादल बेसरी गगनमा होला दुखी झन् किन ॥
‘नाला मात्र रहेछ यो शिशु’ भनी दाढी फुलेका भनून् ।
मानो शावकतुल्य नाच्छ वनमा फुर्फुर् गरी उफ्रिँदै ॥
पानी धेर भए गभीर ढँगले गङ्गा बनी चल्दथ्यो ।
पारावार पुगेर पूर्ण महिमा पूर्णेन्दुको खुल्दथ्यो ॥
जस्तो भो शिशुले पढून् कनिकुथी कस्तो कथा हो भनी ।
रेखा तीन हुने विचार गहिरा दाढी बढारून् यहाँ ॥
घुम्टो आधि झिकेर स्त्रीहरू पढून् टाढा चिहाईकन ।
काँढाबाट बची सबै रसिकले पत्ती गुलाबी सुँघून् ॥
‘हा हा भारत’ भन्छ जो अब पसोस् यो कुञ्जमा काव्यको ।
जो भज्छौँ पुरुखा मुसार करले दाढी यहाँ कण्वका ॥
नाचून् दिव्य परी जवानहरूका आँखा उज्याला गरी ।
पर्दा फेरि उचालिएर युगका दुष्यन्त राजा बनून् ॥
अर्ती बुद्धि छ चाहिने यदि भने भेट्नू यहाँ गौतमी ।
बूढी सुन्दर चाउरीहरू हुने मेरो रुचाऊन् कथा ॥
मातालाई शकुन्तला छ करमै ‘थप्या’ र ‘थप्या’ दिन ।
भज्ने स्वर्ग छ पाउने झिलिमिली देखेर आरोहण ॥
देखून् सज्जन हातले नजर क्यै छेकेर टाढातिर ।
यो प्राचीन जगत् सुदूर युगका छेडी सबै बादल ॥
नाचून् पात्र सजीवतासँग यहाँ हृद्गङ्गमा देशको ।
थोरै बेर जिऊन् दरिद्र दुनियाँ प्राचीन आनन्दमा ॥
ठूला नीति सिकून् प्रजाहरू सिकून् सद्भक्तिको माधुरी ।
ज्ञानी ज्ञान सिकून् सिकून् कविहरू यो काव्यमा चातुरी ॥
जानून् गर्न विलास दिव्य यसमा सारा नवाबी जन ।
बस्ती नव्य बसाउने रसिक हुन् एकान्त वृन्दावन ॥
हामी बालक हौँ भुलेर युग यो यो क्रूर कोलाहल ।
बारी बादलका फुलून् नजरमा सानन्द निष्कण्टक ॥
यात्रा आज गरौँ उषाभवनको पूर्वीय आकाशमा ।
ल्याऔँला नवगन्ध पुष्प हँसिला पोल्टाभरी बासना ॥
पल्टेकी वनमा नयाँ सुमनमा स्वप्ना बनी सुन्दरी ।
गालाबीच गुलाफका कमलझैँ सेतो चढाई कर ॥
फुस्केका मृदु गन्धले पवनमा भन्ने कथाझैँ गरी ।
मेरो काव्यसुधा पिई अधरले चाखून् निगाहा गरी ॥
प्रेमीमुग्ध हुँदी कुरङ्गनयनी ओजस्विनी कामिनी ।
प्रेमीसाथ बसी पढून् प्रियकथा फुल्दा छहारीमनि ॥
मारी चारु कटाक्ष ती तब भनून् ‘भुल्छन् कसोरी नर’ ।
‘भुल्नेछन् भँवरा म भुल्दिनँ’ भनी प्रेमी दिऊन् उत्तर ॥
झोलीको कनिका प्रशान्त मनले मर्मर् चपाईकन ।
कुर्कुर् ढुक्कुरझैँ रमी हृदयले योगी डुलून् कानन ॥
‘रामै तुल्य रमाइलो छ रमिता प्राचीनको यो वन’ ।
भन्दै कण्व र कश्यप प्रभृतिका हुन् सामु योगी जन ॥
हाँसून् हास्य रुचाउने लहरमा बत्तीस मोती खुली ।
राम्रा नक्कलले हँसाउन सकून् हाम्रा गफाडी गुरु ॥
पग्लोस् भुल्भुल चित्त कोमल यहाँ देखी वियोगी दशा ।
अर्को जीवनको पसोस् हृदयमा हेर्नेहरूको नशा ॥
पाई चारु कला यहाँ प्रकृतिले राम्रो सिँगारून् मुख ।
शिल्पी भाव कुँदून् प्रकाश नवमा तस्बीर नौला गरी ॥
जो छन् सुन्दरता सुगन्धसँगका पाऊन् यहाँ नित्यता ।
भोको भव्य भविष्य भृत्यसरि भै मागोस् सदा काव्य यो ॥
चर्खामा विधिले विचित्र ढँगले काते सुनौला कुरा ।
चोला मानिसको खडा हुन गयो बुन्दा त्यही तानमा ॥
मैलो भैकन भार भूकन बनी उघ्रेर जाला भनी ।
स्वर्गैतर्फ उडी सुनै सुन हुने गाना बन्यो जीवनी ॥
स्वर्गङ्गा शिरमा झरेर कविको आह्वानले सुन्दरी ।
लठ्ठा पूर्वविचारका वन बनी चढ्दा कराली परी ॥
नाघी सिल्बिल नागिनीसरि बनी उत्रेर मैदानमा ।
पानीको रसजाल भूमितलमा प्यासाहरूकी बनून् ॥
माटैको अझ गन्ध फूल फलमा खानाहरूभित्र छ ।
ताराको छ निमेषभित्र सुख नै झिम्की छिटो निभ्दछ ॥
झुल्केको दिलको नयाँ नजर नै यो काव्यको सोख हो ।
टुप्पामा रसना भरी अमृतको थोपो बनी बस्दछ ॥
सुन मिष्ठकथा सुवासिनी
मृदुमाधुर्यविलासमोहिनी ।
वनशीतलवारिवाहिनी
शिवसत्सुन्दरतानिनादिनी ॥
सुन कोविदकालिदासको
कलकल्लोलकलास्वलङ्कृता ।
रचनाप्रतिबिम्बिनी कथा
सब यो भारतको प्रिय ज्यथा ॥
वसुधा हरियो गरी सुधा
जल छम्की बहुरङ्गसम्पदा ।
युगनाममिलिन्दगुञ्जिनी
छ नदीझैँ कुसुमायना कथा ॥
मरुपान्थ नदी छ शीतल
पसिना सुक्न सुगन्ध मञ्जुल ।
मृदु वन्य हवा हिलाउँछ
जलकल्लोल प्रसन्न मञ्जरी ॥
हिँड सुन्दरको विदेशमा
चिडिया आज बनूँ उडी त्यहाँ ।
ढकमक्क सुगन्ध छाउने
वनमा नीड रचेर गाउने ॥
कलिकल्मषहीन कालिनी
कनकाभा छ उषा चिरन्तिनी ।
ऋषिजीवनले रमाइली
छ हरा शावकको वनस्थली ॥
जल चञ्चल कल्कलाउँदी
वन फुल्दो तटमा सुहाउँदो ।
मुदु मर्मरका मिठासमा
सपनातुल्य कथा छ बासमा ॥
सुरलोक नटी झिनी कटी
सपना नै बिपना बनी फुटी ।
वनबीच वसन्तकामिनी
सरि नाच्छन् लघु पङ्खगामिनी ॥
म त जान्छु हिँडेँ सखे अब
किन बस्ने यस देशमा जब ।
छ अनन्त विशाल वैभव
कविका काननमा सुधासव ॥
हडबडसित लेखेँ छैन उस्तो मिठास ।
गडबड कति पर्छन् मर्दछन् भित्र आस ॥
लटपटसित आयो काव्य यो नामनिम्ति ।
खटपट परिजाँदा माफको गर्छु बिन्ती ॥
No comments:
Post a Comment