शिव शब्दले कल्याण
जनाउँछ । शिवत्वलाई भलोपन अथवा कल्याणकारितासग
समीकरण गर्न सकिन्छ । यो चीज त्यसकारण वस्तु अथवा धर्मबाट राखेर सिकाएको सार अथवा
गुण हो । चीनी चीजबाट हामी गुलियोपन मनले पृथक् पारेर, अनुभवका आधारमा अडेको, एक काल्पनिक अथवा मानसिक तथ्य बनाउँछौं । त्यस्तै
साहित्यमा शिवत्वको अस्तित्वको कल्पना गरिन्छ ।
"तब के
साहित्य शिवत्वकै आधारमा अडेको छ , अथवा त्यससंग एकाकार छ ?" हामी सोध्न सक्तछौं ।
साहित्य शब्दलाई असली
साहित्य अथवा समाजको कल्याणप्रद वा प्रगतिवाहक वस्तु सम्झिएदेखि, त्यसको एक आवश्यक अङ्ग अथवा गण शिवत्व रहनै पर्दछ भन्ने अनुमान गरिन्छ ।
यसको समाजतर्फको हितकारी परिणाम होस् अथवा यसको कल्याणप्रद भावनाको समूह रूप होस्,
जुनसकैपनको आँखाको अगाडि परीक्षार्थ ल्याए पनि, साहित्य र शिवत्वमा हामी एक किसिमले अनिवार्य तथा घनिष्ट सम्बन्ध रहेको
स्पष्ट अनुभव गर्न सक्तछौं ।
जसले समाजको हानि गर्दछ, त्यो जहर हो जरुर, असली साहित्य होइन । हृदय र
मस्तिष्कको सन्तुलित विकासको पैदावारी गराउने चेष्टाद्वारा प्रकाशवान्
व्यक्तित्वबाट प्रवाहित सिर्जनाका धारालाई हामी साहित्य भन्दछौ । यसको अस्तित्वको
समर्थन नै सामाजिक चक्षुको उन्मूलन, हृदयको विकास र
त्यसद्वारा बुद्धिको उद्बोधनमा अडेको छ । यो युगको प्रतिबिम्ब हो, त्यस्तै प्रगति पनि यसको उपयोगिता, यसको शिवत्वमा
आधारित पाइन्छ ।
कल्याणको भावना
मनुष्यको बुद्धिविकासको इतिहासको पहिलो पङ्क्ति भएर निस्केको होला । तर कल्याणका विषयमा
छ दर्शनको भारतमा झगडा छ र अठार पुराणको पनि । त्यस्तै हितको बाटो देखाउनेहरूमा
हजारौं वादविवाद सभ्यताको प्रातः कालदेखि चलिरहेको पाइन्छ ।
शिव-भावनालाई लक्ष्य
गरेर धर्महरूको जन्म भयो, तिनको द्वन्द्व हामीहरू अझ
भोग्दैछौं । यो भावनालाई यति ठूलो महत्त्व र दिव्यता दिइयो कि यसलाई ठोस बनाउँदै
प्राचीन ऋषिले ईश्वरलाई शिव बनाए, शिवलाई ईश्वर । स्रष्टा र
शिवत्वको समीकरणबाट पशुपति बाबा, भोलानाथ विश्वनाथको प्रसव
मानव-कल्पनाले वहन गरिनु आधुनिक उज्यालामा यी दार्शनिक अथवा धार्मिक मूर्तीकरण
फिसलिने जगमा उठाइएर अडाइएका संझिन्छन् :
यी चीजहरू सम्प्रदाय वा
धार्मिक कल्पनासंग सम्बन्ध राख्दछन् र यिनको मूल्यह्रास वेगशील हुदै आएको देखिन्छ
। नत्र शिवपुराणभन्दा ठूलो साहित्य हामी पाउने थिएनौं र श्रेयउपरको उपनिषद्का पङ्क्ति
यसका सुनौला गजूर बन्ने थिए ।
तब शिव भावनाको विकारको
इतिहासमा यसको धार्मिक व्यक्तीकरणको प्राधान्यउपर टिप्पणी गर्दै हामी भन्न सक्तछौँ, प्राथमिक कालमा यस भावले उत्तेजित बनाएको थियो । यसले प्रकृतिका कथाहरू
जगायो । दर्शनहरूलाई जन्म दियो तथा साहित्यिक स्तरमा आएर सिर्जनात्मक शक्ति र
विश्लेषणात्मक बुद्धिको पारस्परिक क्रियाको प्रदर्शनहरू देखायो ।
तर यस अवस्थासम्म
शिवत्वको भावना चर्को भए पनि कोरा र काँचै थियो भन्न सकिन्छ । कारण, यो विज्ञान र विवेकको दह्रो आधारमा उठेर पाको ईंटको घर हुन सकेन । हामी यस
बेलासम्म विश्वकल्याणको भावनासम्म भाक्दछौं तर यसको ठोस बाटो र वास्तविक चेहरा
अनुमान गर्न सक्तैनौँ । यससँग विज्ञानाभाव र अविश्वास तथा साम्प्रदायिकता
मिसिन्छन् र यसको आत्मा अधिकांशमा मासिदिन्छन् ।
सायद 'शिव' को सच्चा रूप अथवा राह कुनै गुणले पनि राम्ररी
जानोइन । यसको अन्वेषण नै सभ्यताको गति हुन सक्तछ, तैपनि
हामी प्राचीनको काँधमा चढेर बाजेका गलेका र फुलेका रौंहरू प्रशस्त टिप्न सक्तछौं ।
युग-युग 'शिव' भन्ने वस्तुतर्फ मनुष्यको, समाजको दृष्टिकोण बदलिँदै जान्छ तर ती परिवर्तनका क्रममा हामी एक विकासको
क्रिया पनि अनुभव गर्न सक्तछौं ।
शिवलाई पहिले
ढुङ्गाद्वारा झल्काउने चेष्टा गरिन्थ्यो, नामद्वारा
पक्रिन खोजिन्थ्यो । निर्जीव मूर्तिबाट सामाजिक सम्बन्ध र मोलमोलाइको तर्क
शिवजीपछि ओर्लंदै गएर, सिर्जनात्मक प्रतिभाको सफल क्रियामा
विलास लिँदै, स्वर्गबाट पृथ्वीतर्फ अवतरण गरिरहेका पाइन्छन्
।
सृष्टि विश्व काल्पनिक
पदार्थ सम्झिन्थ्यो, एक अतिमानव आत्माको पैदायस एक
दिव्य इच्छाको कविता हुन सक्ला । तर ठोस प्रमाण पाइन्न । हामी त्यति सजिलोसँग सहज
स्वीकार गर्न सक्तैनौं गरे विवेकले डस्छ । यस कारण आजकल अप्रमाणितको त्याज्यताको
आधारमा, भौतिकवादी प्रगति चलेको देखिन्छ तर शिवत्वको भावना
यिनलाई उति अनिवार्य तथा स्वाभाविक छ जति अध्यात्मवादीलाई थियो र छँदैछ । केवल
दृष्टिकोण बदलिएर गयो । हामीहरू आज अरु वस्तु सम्बन्धमा यस भावलाई पोसेर मानवहितको
उपासना गर्दछौं ।
मानिसको नीति बदलियो ।
नीति विज्ञान भन्ने शास्त्र जन्मिन सक्ने छैन भन्ने केही आधुनिक विद्वान्हरूको भनाइ
छ,
किनकि यसलाई ठोस आधारमा पाइन्न । यसकारण अघिको अमृत धेरै जहर जाँचिन
आइसकेको देखिन्छ । तैपनि शिवत्व भन्ने एक चीज खारिएर बेटर-सुन बन्न सक्छ । बिलाउन
सक्तैन ।
मानवको पहिलो कर्तव्य
आफूतर्फ आत्मकल्याण, अरुतर्फ विश्वकल्याण । यी दुई
भाव व्यवहारमा जुध्न र बाझन पनि सक्तछन् तर एक घेरामा तिनीहरू एकाकार पनि देखिन्छन्
। जहाँ परकल्याण छ त्यहीँ आत्मकल्याण छ भन्ने उक्तिसागर भरिएर मात्र नदी बग्न
सक्दछन् भन्ने जस्तो जच्तछ । प्रत्येक व्यवहार क्षेत्रमा यो लागु हुन सक्दैन भन्ने
केही व्यवहारवादीको उजुर छ । व्यक्तित्ववादी भन्दछ, व्यक्ति पहिले, समाजवाद वा अरु यस्तो वाद भन्दछ, समाज पहिले । तर यी
दुई विरोधी बहसको एक सन्तुलन बिन्दुमा अडेर हामी भन्न सक्तछौं, व्यक्ति अथवा समाज पारस्परिक विकास सूत्रमा बाँधिने वस्तु हुन्छ । दुवैको अविरोधी
विकास-पङ्क्ति नै कल्याणको रेखा हुन सक्ला । शिवत्व सायद त्यही बिन्दु हो । यो
ज्यादै सूक्ष्म छ, करीब अग्राह्य ।
यस्तै तत्त्वको सच्चा
आनन्द र निर्देशनमा साहित्यकारको प्रतिभाको फाँद नापिन्छ, किनकि साहित्यले सच्चा तवरले जिउन सिकाउनै पर्दछ । सूत्रद्वारा होइन
यान्त्रिक बुद्धिले होइन । न त लीलावतीको आधारमा । तर वस्तस्थितिको सच्चा समझ,
सामाजिक मोलमोलाइको सच्चा परीक्षा गर्न सक्ने उच्च अन्दाज, व्यक्ति
र समाजको सम्बन्ध परख गर्न सक्ने गहिरो निरीक्षक बुद्धि, खाल्डा
र मैदानको उपर उज्यालो डाल्न सक्ने मानसिक चिराक, भूत-भविष्य,
वर्तमानको अस्तित्व एक समीक्षित विषयमा अनुभव गर्न सक्ने सूक्ष्म वीक्षण,
धी र हृत्को सहयोगद्वारा निष्कलुषित निर्देशन र प्रेरणाको सामर्थ्य
यी उसले उच्चतर जीवनको इसारा र चारा दुवै प्रदान गर्दछ । साहित्यको हृदयद्वारा
मस्तिष्क अथवा उच्च बुद्धिमा स्पर्श र यस्तो प्रभावकारिता राख्ने नवसिर्जनालाई कला
भनिन्छ । यसको नव्यता विकासोन्मुख मानव जीवनको गत्यात्मकतामा नै निर्भर छ, प्रत्येक युगमा आफू नै आफ्नो आश्चर्य चमत्कार बनेर चम्केर निस्किरहन्छ ।
अन्ततोगत्वा
हृदयस्पर्शिताका क्रियाद्वारा उत्तरोत्तर गतिपथमा मानवसमाजलाई प्रेरित गर्ने यसको
गुण नै यसको मुख्य शिवत्व जाँचिन आउँछ ।
तैपनि यहाँ हामीले 'सत्यं शिवं सुन्दरम्' जस्ता नित्य प्रभावकारी तर
खतरादारी तवरले भोर भइसकेका उक्तिको पतझडको सडखननबाट होशियारीसाथ आफूलाई बचाउनु
पर्दछ । हामी 'सत्य' लाई विवादस्पद सम्झन
सक्छौं । 'शिव' मा झगडा गर्न सक्छौं । 'सुन्दरम्' मा प्रतियोगितामा चल्न सक्छौं । धार्मिक
बनाउन सक्छौँ यिनलाई त्यस्तै साम्प्रदायिक, त्यस्तै चौडा,
विशाल सजीव पार्न । तिनको आनन्द र सजीव अनुभूति नै हाम्रा आदती
भूलका सुधारक हुन सक्छन् ।
साहित्यकारले
आत्मसत्यलाई सत्य मान्न सक्दछ । आफ्नो मिटान जसद्वारा दुनियाँको हृदय र बुद्धि
जगाउन सक्छ, त्यसैलाई आफूभित्रको शिवत्वको परमानन्द
रूपमा भोग गर्न सक्तछ । आफ्नो आदर्शको मोहनीमा सुन्दरलाई साक्षात्कार गर्न सक्तछ
इत्यादि ।
यी आत्मविषयी
त्रितत्त्वविना उसबाट असली साहित्य रूखबाट हात्ती फल्नु जस्तो भावुक छाप-यन्त्रमा
परेझैँ देखिन्छ । त्यस प्रतिच्छायाद्वारा ताती गर्दो समाजमा कुद्न सक्तछ ।
तर औपदेशिकता पुराणको
पण्डितमात्र हो, कलात्मक उच्चारण र त्यसको अन्तरक्रिया
साहित्यको आत्मा र त्यसको ध्वनि हो । पहिलोमा ढुङ्गाका चिसा महादेव छन् जो बोल्दैनन्
। दोस्रामा चन्द्रमा र आगो दुवै पाइन्छ । हामीहरू आखिरमा दृष्टान्त सुन्न सक्तछौं
।
कमिलाका गण बनेका
शिवभावी ऋषिको जीवनबाट भारतीय इतिहासको खण्डमा वैज्ञानिक राजतन्त्रको जमानामा
प्रादुर्भाव भएका महीक्षेत्र व्यक्तित्वको कि शिव प्रतिष्ठाको 'बुट्टादार कथा यथार्थ' पायौं जसले प्राथमिक युगले
सभ्यताका आधिकारिक कल्याण तत्त्वहरू चिन्न थाले यसअघि अझ सत्यको एक विश्वव्यापी
हामी उही उच्चतर जीवनको पहिलो अन्वेषण पाउछौं । यस बेलासम्म धर्म धेरैजसो साहित्य
बन्यो, साहित्य धर्म रह्यो । शिवत्वले शिवत्व बोलाउँदै
युग-लहरीहरू चढेर चल्यो । त्यो प्रेरणा सम्झनोस् । बेलाको त्यो प्रभाव ! कविहरू
आफ्ना साँचामा मानिस ढाल्दथे किनकि मनुष्यमा शैशवी लचलचाइ थियो ।
विश्लेषण बढेर गयो, दर्शनले साहित्य समालोचनाको कार्यभार लियो तर त्यही कल्पनाले मुछियो,
रङ्गियो, रङमङ्गियो पनि । अझसम्म मान्छे
शिवत्वलाई मान्छे बनाएर जन्माउँथ्यो । तर मनुष्य अर्कै तवरले ढालिइरहेथ्यो,
बनिरहेथ्यो । यी कवि भावनाबाट द्रौपदी जन्मिइन्, राम प्रसूत भए, कृष्णको जन्म भयो, राधा खेल्न लागिन् अनि रामलाई गन्नोस् सयले, द्रौपदीलाई
एकसय दशले, कृष्णलाई हजारले, राधालाई
लाखले ।
एक समाज जन्म्यो जसमा
व्यक्तिहरू यी सुन्दर अथवा शिवका साँचामा ढालिएका थिए । सभ्यताको विकास भयो
सन्तोषले अतिशायिता लियो । कुइरो र धूलो लाग्यो । अनि धेरै दिन सुतेर मानिस फेरि
बिउँझियो र फेरि अर्को नयाँ काँचुली खोज्न लाग्यो । धर्मले राणाप्रताप बनायो, राणाप्रतापले फेरि एक राष्ट्रको धर्म बनाए तर नक्कली कविहरू कवाब खानलाई
हरेक नवाबलाई महावीर र हरेक महावीरलाई चिडिया बनाउन थाले । जहर पियो दुनियाँले,
अनि छट्पटाएर त्यसको मारक खोज्यो । केही प्राचीन तत्त्वतर्फ दगुरे -
जस्तो तुलसी । कोही वर्तमानको सजीव सन्देशतर्फ - जस्तो कवीर -जसले आफ्नो सक्रिय
जीवनतानबाट दिव्य कविता बुनेर दिल फेरि फर्क्यो । उद्बोधन, नवजीवनप्रदान
यी असली साहित्यका शिवक्रिया हुन् । यिनलाई पुस्ता-पुस्ता दोहऱ्याएर सस्ता,
उग्लँदा बनाउँदै, दुनियाँले फेरि अरु
उत्तेजनाका तत्त्व खोज्दै गयो । अर्को जीवनको खोजी हुन लाग्यो । अनि पछि निस्के अरुहरू
विश्व साँग्रिदै र बढ्दै आयो । पूर्व र पश्चिम अँगालो हाल्न लागे । उदाए रवीन्द्र
इत्यादि ।
आजकालको शिवत्व विश्व
जति चौडा हुनुपर्दछ कम-से-कम भूगोलको परिमाणको ।
मान्छेको क्षितिज
फैलियो । उसको पकड जब्बर हुँदै आयो । ऊ केटाकेटी छैन । अब चाणक्यले हाँसो उठाउँछन्
। मनुस्मृति साहित्य गनिन्न । कन्था बाबाको उपदेशमालाले आधुनिक हृदय छुँदैन । हामी
विश्वजीवन अथवा मानवजीवनको पूरा घेराको झलकमा उज्यालामा धप्केका क्षणका आतमानव
ध्वनि र प्रकाश चाहन्छौं । हाम्रा साहित्यकारका प्रतिभा बर्गोल्लङ्घक र मानवताको
पवित्र पूर्णताले प्रस्फुरित हामी देख्न चाहन्छौँ । हाम्रो शिवत्वको भावना अझ दायित्वको
अभिवृद्धिसाथ असली साहित्यको परम हितकारितामा प्रगतिशील समाजको विश्वास र श्रद्धा
झन् झन् दृढतर भएर आइरहेछ ।
हामी साहित्यका
प्रभावमा नीरव प्रतिज्ञा गरेर अन्तर पखाल्दछौँ । उज्याल्दछौँ । जीवनको तयारी उही
पुरानो टेबिलमाथि चलिरहेछ । सहस्र युगका उदात्त चरित्र र भावना हामीभित्र पसेर
जीवन बनिरहेछन् । हामी अझ आजको सुनचुलीमा चढ्ने साहित्यिक उकालो खोज्दै चुलीबाट अरु
पछिका युगमानवलाई बोलाउन खोजिरहेछौँ ।
तर हामी मानव समहभित्र
छौं-त्यहाँ जहाँ जनताको भित्री कोठरीको अप्रकाशित प्रकाशमा दिव्य शिखा अचेत तवरले
धप्केर बल्दछ-उच्चतर उच्चतर जीवन ।
-
स्नातकोत्तर नेपाली निबन्धबाट
No comments:
Post a Comment